‘वसन्त’ आधाउधी मेरै कथा हो - प्रकाश सपूत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३ दिन अगाडि
‘वसन्त’ आधाउधी मेरै कथा हो - प्रकाश सपूत

काठमाडौं -राजधानीमा एक कार्यक्रमबीच गायक तथा सर्जक प्रकाश सपूतले आफूले निर्देशन गर्न लागेको चलचित्र ‘वसन्त’ को घोषणा गरे ।

नाम घोषणाकै बीच चलचित्रको सार प्रस्तुत गरिएको एक भिडियो क्लिप देखाइएको थियो । भिडियो सपूतले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै प्रोजेक्टबारे विस्तृत जानकारी गराएका थिए । यो उनको डेब्यु निर्देशकीय चलचित्र हो । यसअघि उनले नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’मा नायकको रुपमा डेब्यु गरेका थिए । अब भने उनी आफैं चलचित्र बनाउँदैछन् । चलचित्रको कथा उनी आफैंले लेखेका हुन् । चलचित्रका गीतहरुमा संगीत पनि उनी आफैंले भर्नेछन् । सपूतले कार्यक्रममा चलचित्रको रिलिज मिति पनि घोषणा गरे । चलचित्र यहीं वर्षको चैते दशैँमा रिलिज हुनेछ । चैतको समयमा वसन्त ऋतु पर्ने र नयाँ वर्षको समय पनि छुने भएकाले चलचित्र चैते दशैँमा रिलिज गर्न लागेको सपूतले बताए ।दलित युवकको प्रेम कथालाई समेटिएको ‘वसन्त’ लाई मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचनले मिलेर निर्माण गर्नेछन् ।चलचित्रमा सपूत स्वयं फिचर्ड छन् । उनलाई स्क्रिनमा नायिका स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरेले साथ दिँदैछन् । प्रकाश र स्वस्तिमाले यसअघि ‘जाले रुमाल फाट्यो’ र ‘कुरा बुझ्नुपर्छ’ गीतका भिडियोमा सहकार्य गरेका थिए । अब भने यी दुई चलचित्रमै देखिने भएका छन् ।

चलचित्रको कथावस्तु बागलुङको ग्रामीण क्षेत्रको हो । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र सो लक्ष्य हासिल गर्न उनले गर्ने संघर्ष चलचित्रको कथा हो । आरनमा काम गर्ने लोहारको रोलमा कमलमणि देखिनेछन् । चलचित्रमा ‘वसन्त’ को भूमिका निर्वाह गरेका प्रकाश उनै कमलमणिका छोरा हुन् । चलचित्रमा स्वस्तिमाले ‘शान्ति’ नामक पात्रको रोल गरेकी छन् । स्वस्तिमा कथित उपल्लो जातकी युवतीको भूमिकामा छिन् ।सपूतका अनुसार यो चलचित्र उनको आफ्नो अनुभवमा आधारित छ । उनले आफ्नो जीवनको भोगाइ फिल्मांकन हुने बताए ।‘म सानैबाट समाजमा यस्ता पात्रहरु भइदिए हुन्थ्यो वा शान्तिहरु भइदिए हुन्थ्यो भन्दै हुर्किएँ । तर भइदिएनन् । कोहीकोही देखिन्थे । तर, उनीहरुमा सोच थियो, आँट थिएन’, उनले सुनाए, ‘उनीहरुमा यो विद्रोह गर्ने हिम्मतै थिएन । त्यही शान्तिको विद्रोह र वसन्तको कथालाई देखाउन खोजेको छु ।’उनका अनुसार यो सुरुवात हो । ‘पहिला आफ्नो कथा भनौं अनि कथाहरु खोजौं जस्तो लाग्यो । त्यसैले वसन्त आधाउधी मेरै कथा हो । हामीले यस्तै जीवन बाँच्यौं, यस्तै जीवन भोग्यौं र त्यही जीवनको चित्रण वसन्तमा गरिएको छ’, उनले थपे ।नायिका स्वस्तिमा खडकाले पनि सपूतसँग जोडिन पाएकोमा आफू खुसी भएको बताइन् ।कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पनि उपस्थित थिए। केसीले स्वस्तिमा आफ्नो मनपर्ने नायिका भएको र प्रकाश सपूत आगामी दिनमा नेपाली सिने क्षेत्र हाँक्ने व्यक्ति भएर निस्किनेमा आफू विश्वस्त भएको बताए ।गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा तयार हुने चलचित्रको सह–निर्देशन सुनिल विकले गर्दैछन् । सुनिल प्रकाशका भाइ हुन् ।